ललितपुरमा भोटेकोशी–त्रिशूली नदी क्षेत्रमा गत भदौ १० गते आएको बाढीको सम्पूर्ण कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ। तरङ्ग नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा ‘द सनसाइन फ्लड’ को आवरण सार्वजनिक गरिएको हो। पुस्तकमा बाढीको उत्पत्ति, त्यसले पुर्याएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीका अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माणका प्रयास समेटिएका छन्।
डा. ईश्वर थापा र इन्जिनियर राजन थापाले लेखेको पुस्तकमा सात सहसम्पादकसहित इन्जिनियर, अनुसन्धानकर्ता, प्राविधिक तथा अन्य विज्ञले सहकार्य गरेका छन्। पुस्तकको नामको अर्थ हो— आकाशमा बादल नहुँदै आएको बाढी। गत अगस्ट २६ मा हिमाली क्षेत्रमा हिउँ र चट्टान खस्दा ल्हेन्दे नदी हुँदै भोटेकोशी र त्रिशूलीमा बाढी आएको थियो। वर्षा वा पूर्वचेतावनीको कुनै सङ्केतबिना आएको बाढी केही मिनेटमै पानी, हिलो र ठूला ढुङ्गासहित रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली क्षेत्रमा फैलिएको थियो। त्यसले रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रका बस्ती, विद्यालय, पुल र अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो।
कथात्मक गैरआख्यान विधामा तयार पुस्तकमा उद्धारमा खटिएका व्यक्ति, खोजी तथा सहयोगमा जुटेका समुदाय र प्रभावित परिवारका अनुभव समेटिएका छन्। पीस विन्ड्स जापान र मर्सी मलेसियाको सहयोगमा संस्थाले एक हजार ४४८ परिवारलाई राहत तथा सहयोग उपलब्ध गराएको थियो। रसुवाको उत्तरगया गाउँपालिका–५ का ५०१ घरपरिवारलाई विद्युतीय हिटर, केतली र थर्मस वितरण गरियो भने नुवाकोटको विदुर नगरपालिकाका ४९७ घरपरिवारलाई पुनर्निर्माणका औजार दिइयो।
छ भाग र ३१ अध्यायमा विभाजित पुस्तकमा बाढीअघिको करिडोरको अवस्था, विपद्को दिनका घटनाक्रम, उद्धारका अनुभव, मानवीय क्षति र शोक, आर्थिक तथा वातावरणीय प्रभाव एवं भविष्यका लागि आवश्यक पाठ समेटिएका छन्। पुस्तकले पूर्वसूचना प्रणाली सुदृढीकरण, सीमापार सूचना आदानप्रदान, पुनर्निर्माणअघि जोखिम मूल्याङ्कन, जलविद्युत् पूर्वाधारको सुरक्षा र बेपत्ता व्यक्तिको पहिचान तीव्र पार्नुपर्ने सुझाव दिएको छ।
