बुटवलदेखि गोरुसिंगेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको काम दुई वर्ष बित्दा पनि ३० प्रतिशत मात्र सकिएको छ। तीन वर्षमा सक्ने गरी २०८१ माघ ११ गते सुरु भएको आयोजनाको काम तालिकाअनुसार अहिलेसम्म ६० प्रतिशत पुगिसक्नुपर्ने थियो। बाँकी एक वर्षमा काम सकिनेमा शंका उब्जिएको छ।
कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँ लागतको यो सडकका लागि विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने सहमति गरेको छ। चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले २०८१ असार १३ गते ठेक्का सम्झौता गरेका थिए। सम्झौताअनुसार २०८४ असोजभित्र काम सक्नुपर्नेछ।
ढिलाइको मुख्य कारण अलकत्राको मूल्य झन्डै दोब्बर हुनु हो। मूल्यवृद्धिपछि निर्माण कम्पनीले पछिल्लो पाँच महिना काम लगभग ठप्प पारेको थियो। सरकारले मूल्य समायोजन गर्ने निर्णय गरेपछि समस्या समाधान हुने अपेक्षा गरिएको छ।
माटो र नदीजन्य पदार्थको अभावले पनि काम रोकिएको छ। आयोजनालाई ६ लाख घनमिटर माटो चाहिनेमा एक लाख मात्र प्रयोग भएको छ भने डेढ लाख स्टक छ। ११ लाख घनमिटर नदीजन्य पदार्थ चाहिनेमा दुई लाख मात्र उपलब्ध भएको छ। लागत अनुमानमा प्रतिक्यु फिट १५ रुपैयाँ तोकिएको पदार्थ पालिकाहरूले ४५ रुपैयाँमा ठेक्का लगाउँदा विवाद भएको छ।
बिजुलीका पोल सार्ने काम पनि सुस्त छ। सार्नुपर्ने २ हजार ६ सय २३ पोलमध्ये करिब चार सय मात्र सारिएका छन्। जिम्मा पाएको सोहन कन्स्ट्रक्सन सम्पर्कमा नआएको आयोजनाले जनाएको छ।
तैपनि आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपाने आशावादी छिन्। ३० वटा पुलमध्ये ६ वटाको काम सकिएको छ भने १३३ बक्स कल्भर्टमध्ये ७५ वटा बनेका छन्। सामग्री अभाव नभए चैतभित्र १५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे हुने उनको दाबी छ।
