काठमाडौं — बैंकिङ कसुरको मुद्दामा जरिवाना र कैद सजाय पाएका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारागार पठाएको छ। काभ्रेपलाञ्चोकको बनेपा घर भएका ४० वर्षीय सुबिन बैदारलाई बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।
काठमाडौं जिल्ला अदालतले २०८३ असार ३२ मा बैदारलाई १ करोड ५१ लाख रुपैयाँ जरिवाना र एक वर्ष कैद हुने फैसला गरेको थियो। फैसलापछि उनी फरार रहेका थिए।
बनेपाबाट पक्राउ परेका बैदारलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतको आदेशअनुसार उनलाई डिल्लीबजारस्थित कारागार कार्यालयमा चलान गरिएको सीआईबीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।
फैसला सुनाइएपछि फरार रहेका बैदारलाई पक्राउ गरी कारागार पठाइएसँगै मुद्दाको कार्यान्वयन प्रक्रिया अघि बढेको छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले सजाय ठहर गरेपछि पनि लामो समय फरार रहेका प्रतिवादीलाई खोजी गरी पक्राउ गर्ने काम प्रहरीले निरन्तर गर्दै आएको छ।
