काठमाडौं । संयुक्त राष्ट्र संघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षाका अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्ट नेपाल आइपुगेका छन् । शनिबार काठमाडौंको होटल हिमालयमा आयोजना हुने ‘नेसनल एआई समिट २०२६’ मा सहभागी हुन उनी बिहीबार यहाँ आइपुगेका हुन् ।
सम्मेलनको आयोजक डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीका अनुसार एस्टन–हार्ट कार्यक्रमका प्रमुख वक्ता हुनेछन् । विश्वभर चुलिँदै गएको एआई प्रतिस्पर्धामा नेपालजस्ता विकासोन्मुख मुलुकले आफ्नो स्थान कसरी बनाउन सक्छन् भन्ने विषयमा उनी आफ्नो धारणा राख्नेछन् ।
उनको प्रस्तुतिमा विश्वव्यापी एआई प्रतिस्पर्धा, डिजिटल सार्वभौमिकता र नेपालमा एआईको रणनीतिक सम्भावना तथा चुनौतीजस्ता विषय समेटिनेछन् ।
एस्टन–हार्ट दुई दशकभन्दा लामो समयदेखि डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय व्यापार, डिजिटल गभर्नेन्स र साइबर सुरक्षा सम्बन्धी विश्वव्यापी नीति निर्माणमा सक्रिय छन् । उनले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्र, बहुराष्ट्रिय कम्पनी र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै डिजिटल अर्थतन्त्र र प्रविधिसम्बन्धी नीति निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् ।
‘फ्रम प्रमिस टु प्रोग्रेस : अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ (प्रतिबद्धतादेखि प्रगतिसम्म : नेपालको कृत्रिम बुद्धिमत्ता क्षमता विस्तार) मूल नारामा केन्द्रित एकदिने सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरमा कार्यरत एआई तथा प्रविधि क्षेत्रका विज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता, उद्यमी र सञ्चारकर्मी सहभागी हुनेछन् ।
