चितवन — पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज बिहान दुई घण्टाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। मझिमटारमा निर्माणाधीन आकाशे पुलको पैदलयात्री हिँड्ने भाग (गर्डर) राख्नुपर्ने भएकाले बिहान ९ बजेदेखि ११ बजेसम्म यो खण्डमा सवारी आवागमन रोकिएको हो।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार गर्डर राख्ने कामका क्रममा सडक बन्द गर्नु परेको हो। बन्दको अवधिमा उक्त सडक भएर चल्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
आयोजनाले सडक बन्द रहने समयमा चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन आग्रह गरेको छ। लेन अनुशासन कायम गर्न र ट्राफिक नियमको पालना गर्न पनि आयोजनाले अनुरोध गरेको छ।
यसअघि सोमबार दिउँसो चार घण्टा सडक बन्द गरेर यही काम गरिएको थियो। काठमाडौँलाई पोखरा र पश्चिम नेपालसँग जोड्ने पृथ्वी राजमार्गको यो खण्डमा सडक बन्द हुँदा यात्रुहरू केही समय रोकिनुपर्ने हुन्छ। आकाशे पुलको काम पूरा भएपछि पैदलयात्रीले सडक पार गर्न सहज हुने अपेक्षा गरिएको छ।
