काठमाडौं । मधेश केन्द्रित राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको हुंकार मधेशले आफ्नो संगठनलाई जिल्ला तहसम्म पुर्याउने काम अघि बढाएको छ। पार्टीको केन्द्रीय सचिवालयले आइतबार बसेको बैठकबाट देशभरका २५ जिल्लाका लागि सम्पर्क व्यक्तिहरू तोकेको छ। पार्टी प्रवक्ता केशव कुमारले बैठकका निर्णयबारे जानकारी दिएका हुन्।
हुंकार मधेशको औपचारिक घोषणा गत असोज ९ गते भएको थियो। त्यसयता पार्टीले केन्द्रीय संरचना बनाउने कामलाई प्राथमिकतामा राखेको छ। यसअघि नै केन्द्रमा सहजकर्ता र प्रवक्तासहित २१ जना विभागीय प्रमुखहरूको नाम सार्वजनिक भइसकेको छ। अहिले जिल्ला तहमा सम्पर्क व्यक्ति तोकिएसँगै पार्टीको संगठनात्मक आधार अझ फराकिलो भएको छ।
पार्टीले आगामी मंसिरको पहिलो सातादेखि हुंकार हुलाकी यात्रा सुरु गर्ने तयारी गरेको छ। सो यात्राको पूर्वतयारीका रूपमा अहिले विभिन्न जिल्लामा अभियान केन्द्रित बैठकहरू भइरहेका छन्। ती बैठकमार्फत स्थानीय तहमा पार्टीका एजेन्डा र संगठनबारे छलफल भइरहेको प्रवक्ता कुमारको भनाइ छ।
