मुम्बई — अभिनेता शाहरुख खानको आगामी चलचित्र ‘किङ’ ले प्रदर्शनमा आउनुअघि नै भारतीय सिनेमामा नयाँ कीर्तिमान बनाएको छ। चलचित्रको विदेशी प्रदर्शन अधिकार १७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ, जुन भारतीय चलचित्रका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी अधिकार सम्झौता हो।
पिंकभिलाको रिपोर्टअनुसार फार्स फिल्म्सले उक्त अधिकार खरिद गरेको हो। कम्पनीले अधिकारका लागि १७५ करोड रुपैयाँको न्यूनतम ग्यारेन्टी दिएको छ। यसअघि कुनै पनि भारतीय चलचित्रको विदेशी प्रदर्शन अधिकार १०० करोड रुपैयाँसम्म पुगेको थिएन।
‘किङ’ ले लगानी उठाउन अन्तर्राष्ट्रिय बजारमा करिब ३५० देखि ३७५ करोड रुपैयाँ कमाउनुपर्ने हुन्छ। विदेशमा वितरकहरूले सामान्यतया बक्स अफिस आम्दानीको ५० प्रतिशत हिस्सा पाउने भएकाले यो रकम करिब ३७ देखि ४० मिलियन डलर बराबर हुन आउँछ।
शाहरुखका यसअघिका चलचित्रहरूको विदेशी अधिकार यशराज फिल्म्ससँग रहँदै आएको थियो। यशराजले सन् २०२३ मा ‘पठान’ र ‘जवान’ लाई विदेशमा प्रदर्शन गरेको थियो। ‘जवान’ र ‘डंकी’ कमिसन मोडलमा विदेशमा रिलिज भएका थिए, जहाँ वितरकले अधिकार किन्नुको साटो कमिसन लिन्छन्। ‘किङ’ का लागि पनि सुरुमा यही योजना थियो, तर फार्स फिल्म्सले ठूलो रकम प्रस्ताव गरेपछि सम्झौता परिवर्तन भएको हो। फार्स फिल्म्ससँग विदेशी वितरणको अनुभव छ र कम्पनीले प्रभासको ‘साहो’ लाई एक्लै विदेशमा वितरण गरेको थियो।
शाहरुखका ‘पठान’ र ‘जवान’ ले विदेशमा करिब ४००–४०० करोड रुपैयाँ कमाएका थिए। ‘किङ’ ले सफलता पाउन ‘धुरन्धर २’ को ४६० करोड वा ‘आरआरआर’ को ४३० करोड रुपैयाँको नजिक पुग्नुपर्नेछ।
चलचित्रको निर्देशन सिद्धार्थ आनन्दले गरिरहेका छन् भने रेड चिलिज इन्टरटेनमेन्ट र मार्फ्लिक्स पिक्चरले संयुक्त रूपमा निर्माण गरेका हुन्। चलचित्रमा दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान, अनिल कपुर, अभय वर्मा र अरसद वारसी पनि देखिनेछन्। गुरु र शिष्यको यात्रामा आधारित कथामा शाहरुख नयाँ एक्सन अवतारमा देखिनेछन्।
‘किङ’ सन् २०२६ को क्रिसमसमा रिलिज हुनेछ, जहाँ जुमान्जी, एभेन्जर्स: डुम्सडे र ड्युन ३ जस्ता हलिउड चलचित्रहरूसँग प्रतिस्पर्धा गर्नेछ। यसैबीच, बलिउड हङ्गामाको रिपोर्टमा पेन मरुधरले ‘किङ’ को अखिल भारतीय वितरण अधिकार २५० करोड रुपैयाँमा खरिद गरेको उल्लेख छ।
