काठमाडौं । वरिष्ठ पत्रकार ऋषि धमलाले पछिल्लो समय नेपाली प्रेसमाथि आक्रमणका घटना तीव्र रूपमा बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजकसमेत रहेका धमलाले शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पत्रकारमाथि हुने धरपकड र सञ्चारगृहभित्र पसेर पत्रकार पक्राउ गर्ने कार्य लोकतन्त्रविरुद्धको कदम भएको बताए ।
नेपाली सञ्चारमाध्यम कसैसँग पनि नझुक्ने उनको भनाइ थियो । पत्रकार र सञ्चारगृहलाई दबाब तथा त्रासमा राख्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उनले स्पष्ट पारे । प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले सञ्चारकर्मीमाथि हुने कुनै पनि किसिमको हस्तक्षेप रोकिनुपर्ने धारणा राखे ।
आफू बालेन शाह नेतृत्वको सरकारको समर्थनमा रहेको धमलाले बताए । तर, सरकारले प्रेस स्वतन्त्रतामाथि असर पर्ने कुनै पनि गतिविधि गर्न नहुने सुझाव उनले दिए । सरकारप्रति समर्थन र प्रेस स्वतन्त्रताको रक्षा दुवै सँगै जान सक्ने उनको भनाइ थियो ।
