चार वर्षअघि पोर्चुगल पुग्दा सुरेश गिरीको हातमा भाँडा माझ्ने काम थियो। आज उनी लिस्बनस्थित एउटा इटालियन रेस्टुरेन्टमा पिज्जा र पास्ता बनाउने टोलीका सबैभन्दा अनुभवी कर्मचारी हुन्।
रेस्टुरेन्टमा भाँडा माझ्न थालेको एक सातामै एक जना कर्मचारीले काम छाडेपछि सुरेशले भान्सामा पस्ने मौका पाए। त्यहीँ उनले पहिले पास्ता बनाउन सिके। पिज्जा बनाउने अधिकांश कर्मचारी नेपाली भएकाले उनीहरूसँगको चिनजानले उनलाई पिज्जा सिक्ने बाटो पनि खोलिदियो। चार महिनामै उनी पिज्जा बनाउन सक्ने भए। रेस्टुरेन्टमा जम्मा १८ जना कर्मचारी छन्, जसमध्ये भान्सामा काम गर्ने सातै जना नेपाली हुन्। खाना पस्किने र अन्य काममा भने ब्राजिल र कोलम्बियाका नागरिक खटिन्छन्। सुरेश दैनिक आठ घण्टा काम गर्छन् र सातामा दुई दिन बिदा पाउँछन्। खानाको व्यवस्था रेस्टुरेन्टमै हुन्छ।
सिन्धुपाल्चोकको मेलम्ची घर भएका सुरेश घरका कान्छा सदस्य हुन्। उनले २०६७ सालमा गाउँकै जलवायु देवी माविबाट एसएलसी पास गरेपछि काठमाडौं आएर जोरपाटीस्थित जया मल्टिपल कलेजमा मानविकी पढे। सन् २०१८ मा उनी विद्यार्थी भिसामा साइप्रस गए, जहाँ एक वर्षे बिजनेस कोर्स पढे। विद्यार्थीलाई काम गर्ने अनुमति नभएकाले सुरुका दुई–तीन महिना कामै नपाएर बिते। पछि कृषि क्षेत्रमा फलफूल तथा तरकारी टिप्ने काम पाए, त्यसपछि कफी सप र केएफसीमा एकैपटक दुईवटा काम गरे। सन् २०२१ मा उनी पोर्चुगल आए।
पोर्चुगलमा पनि काम पाउन सजिलो थिएन। दुई महिना खोजेपछि एक नेपाली लगानीकर्ताको भारतीय रेस्टुरेन्टमा मासिक सात सय युरो तलब तोकियो, तर तलब किस्तामा दुई–तीन सय युरो मात्रै आउँथ्यो। चार महिनामै काम छाडेका सुरेश एक महिनापछि साथीमार्फत अहिले काम गरिरहेको इटालियन रेस्टुरेन्टमा पुगे।
पोर्चुगलमा दैनिक जीवनका लागि स्थानीय भाषा जान्नु महत्त्वपूर्ण हुने उनको अनुभव छ। सरकारी कार्यालयमा काम पर्दा भाषाको समस्या हुने गरेको उनले बताए। अहिले सुरेश र उनकी श्रीमती पोर्चुगलमै बस्छन्। उनी समय समयमा नेपाल आइरहन्छन् र आगामी दिनमा आफ्नै व्यवसाय सुरु गर्ने योजना बनाएका छन्। उनी गैरआवासीय नेपाली संघ पोर्चुगलको लेखा समिति सदस्य र अन्तर्राष्ट्रिय नेपाली मञ्च पोर्चुगलको महासचिवसमेत हुन्।
