दिनभर परेको वर्षाले अवरुद्ध भएको नेपाल प्रिमियर लिगको शनिबारको खेल अन्ततः स्थगित भएपछि त्रिभुवन विश्वविद्यालयको मैदानमा रहेका खेलाडीले फुटबल र भलिबल खेलेर समय बिताएका छन्। कीर्तिपुरस्थित मैदानमा दिउँसो साढे चार बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुने तालिका थियो। तर आउटफिल्डको अवस्थालाई लिएर विवाद भएपछि खेल सञ्चालन हुन सकेन।
वर्षाका कारण मैदान खेल्न योग्य नरहेको विषयमा दुवै पक्षबीच मतभेद देखिएको थियो। खेल स्थगित भएपछि क्रिकेट खेल्न नपाएका खेलाडी मैदानमै फुटबल र भलिबल खेल्न थाले। उनीहरूले खेलको प्रतीक्षामा बसेको समय त्यसैगरी बिताए।
खेल सुरु हुने आशामा बसेका दर्शकहरू भने विस्तारै मैदानबाट बाहिरिन थाले। यसबीच समर्थकहरूले विभिन्न तरिकाले खेल सुरु गर्न दबाब दिएका थिए। कोहीले मोबाइलको टर्च बालेका थिए भने कोहीले देउसीभैलो भट्याएर खेल आयोजकको ध्यान तान्न खोजेका थिए। तर वर्षा र मैदानको अवस्था नसुध्रिएपछि खेल स्थगित हुने अवस्था आएको हो।
