वोनसानमा आयोजित एक सैन्य प्रदर्शनीमा उत्तर कोरियाले कृत्रिम बौद्धिकतामा आधारित नयाँ हतियारहरू सार्वजनिक गरेको छ। उक्त कार्यक्रममा नेता किम जोङ उन स्वयं उपस्थित थिए। प्रदर्शनीमा आत्मघाती ड्रोन, क्रुज क्षेप्यास्त्र र विभिन्न काममा प्रयोग गर्न सकिने मानवरहित विमान देखाइएको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।
यस अवसरमा पहिलोपटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली पनि प्रस्तुत गरिएको थियो। ती हतियारले टापुमा रहेका लक्ष्यहरूमा पूर्ण सटीकताका साथ प्रहार गरेको उत्तर कोरियाको दाबी छ। प्रदर्शनीका क्रममा सार्वजनिक गरिएका तस्बिरमा दक्षिण कोरियाली सैनिक चौकी र अमेरिकी एम१ अब्राम्स ट्याङ्कका नमूनालाई लक्ष्य बनाई आक्रमण गरिएको देखिएको छ।
किमले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिएका छन्। आणविक हतियार भएको राष्ट्रका रूपमा उत्तर कोरियाले परम्परागत हतियारलाई आधुनिक बनाउँदै कृत्रिम बौद्धिकता र ड्रोन प्रविधिको विकासलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो।
यसैबीच, दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी सागरतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको पत्ता लगाएको जनाएको छ। ती क्षेप्यास्त्र करिब २५० किलोमिटर टाढासम्म पुगेका थिए। दक्षिण कोरियाली सेनाका अनुसार यस वर्ष उत्तर कोरियाले गरेको यो १७औँ क्षेप्यास्त्र परीक्षण हो।
