१३ कात्तिक, काठमाडौं । डेटा केन्द्रमा भएको साइबर आक्रमणका कारण असोज ५ गते देशभरको सेयर कारोबार ठप्प भएको घटनापछि नेपाल स्टक एक्सचेन्जले धितोपत्र बोर्डसमक्ष पेस गरेको सुधार प्रतिवेदनमाथि प्रश्न उठेको छ। बोर्डका अधिकारीहरूका अनुसार उक्त प्रतिवेदनले ठोस समाधान दिन सकेको छैन।
आक्रमणका बेला डेटा हब नामक कम्पनीले होस्ट गरेका ७२ वटा ब्रोकर कम्पनीका कारोबार प्रणाली अवरुद्ध भएका थिए। ह्याकरहरूले सर्भरका फाइल इन्क्रिप्ट गरेर खोल्न नसकिने बनाएपछि कारोबार रोक्नुपरेको थियो। डेटा हबले भने फिरौती नतिरी बुटवलस्थित डिजास्टर रिकभरी केन्द्रको ब्याकअपबाट तथ्यांक पुनःस्थापना गरी भोलिपल्टै कारोबार सुचारु गरेको थियो।
घटनापछि बोर्डले एक साताभित्र सुधारसहितको प्रतिवेदन बुझाउन नेप्सेलाई निर्देशन दिएको थियो। नेप्सेले बुझाएको प्रतिवेदनमा आक्रमणपछि चालिएका कदम, अन्य प्रणालीमा पर्न सक्ने जोखिम रोक्ने उपाय र भविष्यमा यस्ता घटना दोहोरिन नदिने सुझाव समेटिएका छन्। प्रतिवेदनमा प्रत्येक तीन महिनामा सुरक्षा कमजोरी परीक्षण गर्ने, निश्चित समयमा वा तत्कालै डेटा ब्याकअप गर्ने, ब्याकअपलाई मुख्य प्रणालीबाट अलग राख्ने, बहु-तह प्रमाणीकरण अपनाउने र कर्मचारीलाई साइबर सुरक्षा तालिम दिने जस्ता बुँदा छन्। तर बोर्डका एक अधिकारीले छोटो समयमा तयार भएकाले सुझाव सतही देखिएको बताएका छन्।
यसैबीच, नेप्सेको प्रतिवेदन र बोर्डका आईटी विज्ञको सुझाव समेटेर पूँजी बजारका लागि नयाँ आईटी नीति ल्याउने तयारी भएको छ। बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले उक्त नीति अन्तिम चरणमा पुगेको र त्यसले धितोपत्र बजार, व्यवसायी तथा प्राविधिक रूपमा जोडिएका सबै पक्षलाई मार्गदर्शन गर्ने बताएका छन्।
