काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. धवलशम्सेर राणाले संविधान संशोधनसहित आठ बुँदे संकल्प सार्वजनिक गरेका छन्। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनादेखि प्रदेश संरचनाबारे जनमत संग्रह गर्नुपर्नेसम्मका माग अघि सारे।
राणाले बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन, समृद्धि र भ्रष्टाचार नियन्त्रणका लागि विश्वसनीय आधार खडा गर्न नसकेको आरोप लगाए। जेनजी विद्रोहमा ज्यान गुमाएका युवा, सुरक्षाकर्मी र अन्य नागरिकलाई न्याय दिन नसकेको तथा सरकारी संरचनामा आगजनी गर्ने दोषीलाई कानुनी दायरामा ल्याउन नसकेको उनको भनाइ छ।
भोटेकोशी–त्रिशूली बाढीका क्रममा प्राप्त राहत सामग्री र रकम तथा प्रधानमन्त्री विपद् राहत कोषमा संकलित सहयोगको अद्यावधिक विवरण सार्वजनिक गर्न उनले सरकारसँग माग गरे। पुनर्स्थापना र पुनर्निर्माणका कामको प्रगतिबारे पनि जानकारी गराउन उनले सरकारको ध्यानाकर्षण गराए।
बजार भाउ दोब्बर–तेब्बर बढेको र दैनिक उपभोग्य वस्तु सहज रूपमा नपाउँदा जनजीवन कष्टकर बनेको राणाको भनाइ छ। सञ्चारकर्मीसहित नागरिकलाई विनापुर्जी पक्राउ गर्ने क्रमले कानुनी राज्य र लोकतान्त्रिक मूल्यको उपहास गरेको उनले उल्लेख गरे।
सार्वजनिक गरिएका आठ संकल्पमा सुदृढ राष्ट्रियता र सार्थक प्रजातन्त्रका लागि संविधान संशोधन, महँगी नियन्त्रण, संवैधानिक राजसंस्था तथा हिन्दु, बौद्ध र किरातसहितको सनातन हिन्दु अधिराज्य स्थापना गर्ने विषय समेटिएका छन्।
त्यस्तै, धर्मान्तरण, गौहत्या र गाईको मासु बिक्रीमा प्रतिबन्ध, युवा तथा महिलामैत्री आर्थिक विकास, सहकारी र लघुवित्तपीडितलाई न्याय, अधिकारसम्पन्न स्थानीय निकाय तथा प्रदेश संरचनाबारे जनमत संग्रह गर्नुपर्ने माग पनि संकल्पमा उल्लेख छ।
विदेशमा रहेका नेपालीको समेत मताधिकार सुनिश्चित गर्दै ‘एक पटकको नेपाली, सधैँका लागि नेपाली’ भन्ने मान्यता स्थापित गर्नुपर्ने उनको माग छ।
राणाले यी प्राथमिकता राज्यले समयमै सम्बोधन नगरे चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिए। देश तथा विदेशमा रहेका नेपालीलाई आफ्ना संकल्पमा समर्थन र सुझाव दिन उनले आह्वान गरेका छन्।
