काठमाडौं । प्रधानमन्त्रीले प्रहरी महानिरीक्षकको राजीनामा मागेको भन्ने चर्चा पूर्ण रूपमा गलत र आधारहीन रहेको सरकारले स्पष्ट पारेको छ ।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यस विषयमा पत्रकारहरूका प्रश्नको जवाफ दिएका हुन् ।
प्रहरी संगठनभित्रको आन्तरिक जानकारी बाहिरिएपछि त्यसैलाई आधार बनाएर गलत हल्ला फैलिएको उनको भनाइ छ । संवेदनशील सूचना चुहावट भएको विषयमा प्रहरीले आफ्नै आन्तरिक संयन्त्रमार्फत सामान्य जाँचबुझ र सोधपुछ मात्र गरिरहेको उनले बताए ।
‘प्रधानमन्त्रीज्यूले आईजीपीको राजीनामा माग्नुभयो वा कारबाही गर्न लाग्नुभयो भन्ने कुरा हुँदै नभएको र भ्रामक सूचना हो,’ पोखरेलले भने, ‘यो सूचना कहाँबाट कसरी चुहावट भयो भनेर प्रहरीले गरेको सामान्य आन्तरिक सोधपुछ मात्र हो ।’
पत्रकार सम्मेलनमा उनले कुनै पनि पत्रकारलाई पक्राउ गर्न सरकार वा प्रधानमन्त्रीको तर्फबाट कुनै निर्देशन नदिइएको दाबी गरे । सूचना चुहावटको सोधपुछका क्रममा कसैलाई नियन्त्रणमा लिइएको भए तुरुन्त रिहा गर्न प्रधानमन्त्रीबाटै निर्देशन भएको उनले जानकारी दिए ।
‘कुनै किसिमको हिरासतमा राख्ने भन्दा पनि सोधपुछ गर्ने काम मात्र भएको हो, नियन्त्रणमा रहेको भए तुरुन्त रिहा गर्नु भन्ने कुरा प्रधानमन्त्रीज्यूबाटै भएको हो,’ उनले भने ।
सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्ने आरोपको खण्डन गर्दै पोखरेलले संविधानले मिडियालाई दिएको अधिकारप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
