काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार विधिको शासन नाघेर उल्टो बाटोमा हिँडिरहेको आरोप लगाएको छ ।
समूहका नेता डा. प्रकाशशरण महतले मंगलबार समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै सुशासनको चर्को नारा दिएर सत्तामा आएको रास्वपामाथि अहिले चौतर्फी गम्भीर प्रश्नहरू उठेको बताए ।
सरकारको कार्यशैलीमाथि टिप्पणी गर्दै डा. महतले सरकार सुशासनको नारा दिएर आएको भए पनि अहिले आफैँ विधिको शासन नाघ्ने काम गरिरहेको बताए । रास्वपा नेतृत्वको सरकार, पार्टी, प्रशासन र संवैधानिक निकायहरूमाथि गम्भीर प्रश्न उठेको भन्दै उनले यो नेपालको लोकतन्त्रका लागि सुखद सङ्केत नभएको बताए ।
उनले सरकारलाई तत्काल सही बाटोमा फर्किन र विधि–प्रक्रियालाई सही ढङ्गले पालना गर्न चेतावनी दिए । नेता महतले सञ्चार क्षेत्रमाथि सरकारबाट भइरहेको हस्तक्षेपप्रति पनि कडा आपत्ति जनाए ।
नेपालमा लोकतन्त्र स्थापना गर्न प्रेस जगतको ठुलो योगदान रहेको स्मरण गराउँदै उनले प्रेसमाथि अङ्कुश लगाउन खोज्नु अनुचित भएको बताए । सञ्चारकर्मीहरूले निर्वाध रूपमा सूचना सम्प्रेषण गर्न पाउने अधिकारको सरकारले पूर्ण ग्यारेन्टी गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तै, सरकार आम नागरिकका दैनिक समस्या, सरोकार र जनचासोलाई सम्बोधन गर्न पूर्ण रूपमा चुकेको उनको आरोप छ । निर्वाचनका बेला रास्वपाले जनतासामु गरेका बाचाहरू पूरा गर्ने दिशामा सरकार नलागेको भन्दै डा. महतले सरकार आफ्ना बाचा पूरा गर्ने होइन, ठिक उल्टो बाटोमा हिँडिरहेको बताए ।
