काठमाडौं । आइतबार सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसीमा भएको दुर्घटनामा नौ जना भने सकुशल बाहिर निस्किएका छन् । मोटरबोट भोजपुरबाट बराहक्षेत्रतर्फ जाँदै गर्दा दुर्घटना भएको हो, र मोटरबोट आफैँ पनि नदीमा बेपत्ता भएको छ ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मोटरबोटमा १६ जना सवार थिए । बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि विभिन्न बेसबाट टोली घटनास्थलमा खटिएका छन् । सशस्त्र प्रहरी बल नं. १ बाहिनीबाट पाँच जना गोताखोरसहित नौ जना, सुरक्षा बेस रामपुरबाट दुई जना डिएमसहित छ जना र विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना डिएमसहित नौ जना खटिएका छन् ।
यस्तै सशस्त्र प्रहरी बल नं. ६ गुल्म धनकुटाबाट डीएसपी राजेश फुयालसहित नौ जनाको टोली र विपद् व्यवस्थापन बेस मुलघाटबाट चार जना डिएमसहित सात जनाको टोली पनि खोजी तथा उद्धारमा जुटेको छ । बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
