काठमाडौं — सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा जम्मा १३ वटा उजुरी दर्ता भएका छन्। न्याय परिषद्ले गत असोज ३० गते रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो।
समितिले कात्तिक ९ गतेदेखि उनीहरूविरुद्ध उजुरी आह्वान गरेको थियो र बिहीबार उजुरी दिने अन्तिम दिन थियो। उजुरीकर्ताहरूले केही उजुरी संयुक्त रूपमा र केही छुट्टाछुट्टै रूपमा दर्ता गराएका छन्। बागचन्दविरुद्ध ५, सारूविरुद्ध ६, पाण्डेविरुद्ध १० र डाँगीविरुद्ध ७ वटा उजुरी परेका छन्।
समितिले बागचन्द र सारूको सुनुवाइ शुक्रबार गर्ने तयारी गरेको छ भने पाण्डे र डाँगीको सुनुवाइ शनिबार हुने जनाएको छ। सुनुवाइमा उजुरीका आधार, उम्मेदवारको योग्यता र विगतका कार्यसम्पादनबारे छलफल हुने अपेक्षा गरिएको छ। सिफारिस भएका न्यायाधीशहरूको नियुक्ति संसदीय सुनुवाइपछि मात्र टुंगो लाग्नेछ।
