साउदी अरबको सयबाह तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
परराष्ट्र मन्त्रालयले बिहीबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। विज्ञप्तिमा सर्वसाधारण नागरिक र अत्यावश्यक पूर्वाधारलाई निशाना बनाइ गरिने कुनै पनि किसिमका आक्रमणको कडा निन्दा गर्ने नेपालको दृढ अडान दोहोर्याइएको छ।
मन्त्रालयले कुनै पनि विवादको समाधान हिंसाबाट नभई संवाद, वार्ता र कूटनीतिक माध्यमबाट शान्तिपूर्ण रूपमा गरिनुपर्ने धारणा व्यक्त गरेको छ। उक्त तेल क्षेत्र साउदी अरामकोद्वारा सञ्चालित सयबाह क्षेत्र हो, जुन दक्षिणपूर्वी साउदी अरेबियाको रुब अल खाली मरुभूमिमा अवस्थित छ।
पछिल्लो समय खाडी क्षेत्रमा बढ्दो क्षेत्रीय तनावका कारण निर्माण, सुरक्षा, आतिथ्य र ऊर्जा क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षामाथि चिन्ता गहिरिँदै गएको छ। नेपालले अन्तर्राष्ट्रिय विवादहरू सधैँ कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने र नागरिक तथा नागरिक पूर्वाधारको रक्षा गरिनुपर्नेमा जोड दिँदै आएको छ।
