काठमाडौँ । भोटेकोशी र त्रिशूली क्षेत्रमा भएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा पुनर्निर्माणमा हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज)ले २० मिलियन अमेरिकी डलर उपलब्ध गराउने भएको छ । नेपाली मुद्रामा यो रकम करिब ३ अर्ब रुपैयाँ बराबर हुनेछ ।
कोष सञ्चालक बोर्डको बिहीबार (कार्तिक ५) बसेको विशेष बैठकले उक्त सहयोग स्वीकृत गर्ने निर्णय गरेको हो । सहयोग रकम बाढीबाट विस्थापित तथा प्रभावित समुदायको तत्काल राहत, दीर्घकालीन पुनर्स्थापना र भौतिक संरचनाको पुनर्निर्माणमा खर्च गरिनेछ ।
गत अगस्ट ३१ मा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त क्षेत्रका बाढीपीडितलाई तत्काल सहयोग जुटाइदिन कोषलाई संयुक्त पत्र लेखेका थिए । नेपालको औपचारिक आग्रहपछि विकासशील तथा विकसित मुलुकका बोर्ड सदस्य र वैकल्पिक सदस्यहरूबिच विभिन्न चरणमा छलफल चलेको थियो । लामो संवाद र परामर्शपछि बोर्डले नेपाललाई सहयोग दिने निष्कर्ष निकालेको हो ।
भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी र पहिरोले ठुलो जनधनको क्षति भएको थियो । प्रारम्भिक विवरणअनुसार विपद्बाट करिब १५ हजार घरपरिवारका ६० हजारभन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । बाढीमा हालसम्म करिब १ हजार ५०० जनाको मृत्यु भएको छ भने ५ हजारभन्दा बढी व्यक्ति बेपत्ता छन् ।
