काठमाडौं । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडकमा ट्राफिक प्रहरी उभ्याएर सवारी साधन व्यवस्थापन गर्ने चलन अन्त्य गरी प्रविधिमा आधारित स्मार्ट प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीमा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यातायात व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन जोड दिए । उनका अनुसार अब ट्राफिक प्रहरीको मुख्य काम चोकमा उभिएर हात हल्लाउने नभई नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने र सडक सुरक्षाबारे जनचेतना फैलाउने हुनुपर्छ ।
स्मार्ट ट्राफिक प्रणालीमा लगानी बढाइँदै गएको जानकारी दिँदै गजुरेलले उपत्यकामा बिग्रिएका ट्राफिक बत्ती मर्मत गर्ने र नयाँ जडान गर्ने काम भइरहेको बताए । ट्राफिक कन्ट्रोल रुमलाई समेत थप व्यवस्थित र प्रविधिमैत्री बनाइने उनको भनाइ छ ।
आकाशे पुलको आवश्यकताबारे उठेको प्रश्नमा उनले स्मार्ट ट्राफिक लाइट पूर्ण रूपमा कार्यान्वयन गर्न सके सडक पार गर्न आकाशे पुलमाथिको निर्भरता कम हुने दाबी गरे । विकसित देशहरूमा समेत आकाशे पुलको प्रयोग कम हुने दृष्टान्त पेस गर्दै उनले मुख्य लगानी अब आकाशे पुलभन्दा इन्टेलिजेन्ट ट्रान्सपोर्टेसन सिस्टममा हुने बताए । यद्यपि आवश्यक पर्ने स्थानमा आकाशे पुल निर्माणको काम भने नरोकिने उनले स्पष्ट पारे ।
सडकमा ड्युटीमा खटिने ट्राफिक प्रहरीका लागि बस्ने ठाउँ, पिउने पानी र शौचालयको समेत उचित व्यवस्था नभएको गुनासोप्रति आफू गम्भीर रहेको गजुरेलले बताए । घामपानी नभनी खटिने ट्राफिक प्रहरीका लागि यस्ता आधारभूत सुविधा व्यवस्थापन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता उनले जनाए ।
