उद्योगबाट निस्कने प्रदूषण घटाउन र स्वच्छ ऊर्जा प्रयोग बढाउन नयाँ परियोजना अघि बढाइएको छ। विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघले यस परियोजनाका लागि सहुलियत ऋण र अनुदान दिने भएको छ। परियोजनाको नाम नेपाल स्वच्छ वायु तथा समृद्धि परियोजना हो।
संघले परियोजनाका लागि तीन करोड अमेरिकी डलर सहुलियत ऋण र ४० लाख अमेरिकी डलर अनुदान दिने सम्झौता भइसकेको छ। यसबाट करिब ४०० उद्योग लाभान्वित हुने बताइएको छ। उद्योगहरूले स्वच्छ ऊर्जा प्रयोग गरेमा प्रदूषण कम हुने र हावाको गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।
परियोजना कार्यान्वयनका लागि वित्तीय मध्यस्थकर्ता बैंकका रूपमा राष्ट्रिय वाणिज्य बैंकले काम गर्नेछ। बैंकले कर्जा प्रदान गर्ने सम्बन्धमा नेपाल सरकारको अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र बैंकबीच सम्झौता भएको छ।
उद्योगहरूलाई अनुदान उपलब्ध गराउने विषयमा उद्योग मन्त्रालय, उद्योग विभाग र बैंकबीच पनि सम्झौता सम्पन्न भएको छ। यो जानकारी बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी भीमप्रसाद घिमिरेले दिएका हुन्।
परियोजनामार्फत औद्योगिक प्रदूषणका कारण खस्किएको वायुको गुणस्तरमा उल्लेख्य सुधार आउने दाबी गरिएको छ। राष्ट्रिय वाणिज्य बैंकले हरित वित्त प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको पनि बैंकले जनाएको छ।
