धादिङ । बाढीले बगाएको फुर्केखोलाको पक्की पुलको ठाउँमा अब पानीमाथि तैरिने पुल बन्ने भएको छ । जिल्लाका १३ वटै स्थानीय तहको संयुक्त पहलमा उक्त पुल जडानको काम तीव्र गतिमा अघि बढाइएको हो ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूलीमा आएको भीषण बाढीले फुर्केखोलास्थित पक्की पुल बगाएको थियो । पृथ्वी राजमार्गलाई सदरमुकाम धादिङबेँसीसँग जोड्ने पुल नहुँदा जिल्लाको उत्तरी क्षेत्रको सडक सञ्जाल विच्छेद भएको छ । घटना भएको दुई महिना बितिसक्दा पनि संघीय सरकार र सडक विभागले नयाँ पुल बनाउन सकेका छैनन् । अहिले मासटारदेखि परेवाटारसम्म करिब २८ किलोमिटर कच्ची सडकबाट यात्रा गर्नुपर्ने बाध्यता छ ।
संघीय सरकारले ११८ मिटर लामो पुलका लागि बेलीब्रिजको स्टक नभएको भन्दै निर्माण असम्भव बताएको थियो । त्यसपछि स्थानीय तहले आफैँ विकल्प खोजेका हुन् । बर्दियाको कोठियाघाटस्थित गेरुवा नदीमा २०५६ सालमा बनाइएको यस्तै पुलको सामग्री एक दशकदेखि राजापुरमा थन्किएर बसेको थियो । सोही सामग्री ल्याएर फुर्केखोलामा पुल बनाउन लागिएको हो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाका अनुसार पुलका लागि आवश्यक १६/१७ वटा फलामे बक्स ल्याउन ८/९ वटा ट्रेलर चाहिन्छ । बुधबारदेखि ट्रेलरमा सामग्री लोड गरी पठाउने काम सुरु भएको छ र बिहीबारसम्ममा सामग्री फुर्केखोला आइपुग्ने अनुमान छ । प्राविधिक टोलीले ४ देखि ५ दिनभित्र पुल तयार पार्ने प्रतिबद्धता जनाएको छ । लक्ष्यअनुसार काम भए तिहारअघि नै पुल सञ्चालनमा आउनेछ ।
पुल जडान भएपछि आउँदो वर्षा सुरु हुनुअघिका ७/८ महिनासम्म हलुका तथा मझौला सवारीसाधन, एम्बुलेन्स र दैनिक उपभोग्य वस्तु बोकेका गाडी वारपार गर्न सक्नेछन् । ढुवानीमा करिब ९/१० लाख रुपैयाँ लाग्ने देखिएको छ र विपद् व्यवस्थापनका लागि १३ वटै स्थानीय तहले जम्मा गरेको ७० लाख रुपैयाँबाट खर्च जुटाइने भएको छ ।
