कर्णाली प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा सुर्खेतमा निर्माणाधीन एकीकृत प्रशासनिक भवनको काम तीव्र गतिमा अघि बढेको छ। भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले बुधबार वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित निर्माणस्थलको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री रोका र सचिव अर्जुनकुमार बमले आयोजनाको कार्यप्रगति, निर्माणको गुणस्तर, प्राविधिक पक्ष र प्रयोग हुने निर्माण सामग्रीबारे जानकारी लिएका छन्। मन्त्री रोकाले निर्माण सम्पन्न भएपछि प्रदेशका मन्त्रालय र मन्त्रीका लागि एउटै स्थानबाट प्रशासनिक कामकारबाही र सेवा प्रवाह व्यवस्थित हुने बताए।
उनले निर्माणको गुणस्तरलाई मुख्य प्राथमिकतामा राख्न, प्राविधिक पक्षमा विशेष ध्यान दिन र कामको जिम्मेवारी स्पष्ट गरी अघि बढ्न निर्देशन दिए। आयोजनामा संलग्न निकाय र मन्त्रालय दुवै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।
सचिव बमले निर्माणको प्रगति र गुणस्तरबारे प्रत्येक महिना नियमित छलफल गर्ने, समस्या देखिएका स्थानमा तत्काल समाधानको पहल गर्ने र सबै पक्षबीच प्रभावकारी समन्वय गर्ने बताए। उनले सरिया र सिमेन्टलगायत निर्माण सामग्रीको परीक्षणमा विशेष ध्यान दिन प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
करिब तीन अर्ब दुई करोड २९ लाख ५८ हजार दुई सय ८० रुपैयाँ लागतमा बन्न लागेको भवन निर्माणको जिम्मा कन्टेक–नव सिर्जनशील जेभीले पाएको छ। पूर्वाधार विकास कार्यालय सुर्खेतमार्फत कार्यान्वयन भइरहेको आयोजनाको ठेक्का सम्झौता २०८३ असारमा भएको थियो र एक महिनाअघिदेखि काम सुरु भएको छ। करिब ३६ महिनामा काम सम्पन्न गर्ने लक्ष्य छ।
