पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा ‘फेक हाउसफुल’को चलन निकै चर्चामा छ। निर्माताहरूले आफैँ लाखौँ रुपैयाँ खर्चिएर आफ्नै फिल्मको टिकट किनेर हल भरिएको देखाउने प्रवृत्ति मौलाएको हो।
यो विषयले तब बढी चर्चा पायो, जब कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले सुरुवाती दिनमा फिल्म चलाउन आफूले १०–१२ लाख रुपैयाँको टिकट किनेको खुलासा गरे। चलचित्र विकास बोर्डका अनुसार ४६ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै इतिहास रचेको उक्त फिल्मका निर्माता पौडेलले सामाजिक सञ्जालमार्फत टिकट काट्नु पनि एउटा मार्केटिङ योजना भएको बताएका थिए। पछि फिल्मले बलियो मुख प्रचार पाएर दर्शकको ओइरो लागेको उनको दाबी छ।
यो प्रवृत्ति उक्त फिल्ममा मात्र सीमित रहेन। अभिनेता तथा निर्माता जितु नेपालले आफ्नो फिल्म ‘आइएम जीतबहादुर’ फ्लप हुनुको कारण टिकट किन्न नसक्नु भएको बताए भने निर्देशक ज्ञानेन्द्र देउजाले पनि टिकट नकिनेकै कारण ‘झिँगेदाउ २’ असफल भएको स्वीकारे। पहिले दोस्रो सातासम्म फिल्म हलमा टिकाइराख्न निर्माताले अरूले थाहा नपाउने गरी केही टिकट किन्ने गर्थे, तर अहिले रिलिजको दिनदेखि नै टिकट किन्ने र युट्युबरमार्फत ‘हाउसफुल’को हल्ला फैलाउने काम बढेको छ।
चर्चित निर्देशक दीपेन्द्र के खनालले फिल्मको सफलता दर्शकको रोजाइ र गुणस्तरमा आधारित हुनुपर्ने बताउँदै आफ्नै टिकट किनेर देखाउने प्रवृत्तिलाई लाजमर्दो भनेका छन्। उनका अनुसार यसले क्षणिक फाइदा देखिए पनि दीर्घकालमा उद्योगलाई नै ध्वस्त बनाउँछ र सबैभन्दा ठूलो मार नयाँ तथा साना निर्मातामा पर्छ।
वरिष्ठ निर्माता तथा निर्देशक देउजा यसलाई केवल मार्केटिङ नभई ‘सङ्गठित विकृति’ मान्छन्। ३५ वर्षको करियरमा अहिलेको जस्तो अवस्था कहिल्यै नदेखेको उनको भनाइ छ। उनका अनुसार हलमा दर्शक नभएर शो हट्ने डर देखाएर निर्मातालाई टिकट किन्न उक्साइन्छ र निर्माताले पठाएको रकमको ठूलो हिस्सा ‘सेटिङ’का नाममा केही समूहले लिने गर्छन्। वितरक रोहित कट्टेलले भने टिकट किन्ने चर्चाबारे आफूलाई थाहा नभएको बताएका छन् भने चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपाल कायस्थाले हलहरूको दोष नभएको तर्क गरेका छन्।
