झापा — बिरिङ खोला नजिक प्रातकालीन पदयात्राका क्रममा दुई वटा हात्तीले आक्रमण गर्दा बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ। घटनास्थलमै गम्भीर घाइते भएकी उनको उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लग्दै गर्दा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी रञ्जन आवका अनुसार मंगलबार बिहानको पदयात्रामा खातुनमाथि खोलानजिक दुई वटा हात्ती जाइलागेका थिए। शवलाई परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ।
सोही ठाउँका ७३ वर्षीय झक्कु राजवंशी पनि खातुनसँगै पदयात्रामा थिए। आक्रमणमा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार भइरहेको छ।
जंगली हात्तीको आक्रमणबाट झापाका खोला–बस्ती क्षेत्रमा वर्षेनी जनधनको क्षति हुँदै आएको छ। प्रहरीले वन–हात्तीको गतिविधि देखिएको ठाउँमा बिहान–बेलुका सतर्क रहन आग्रह गरेको छ।
