काठमाडौँ — सातवटै प्रदेशमा जलन उपचार सेवालाई थप प्रभावकारी बनाउन सरकारले आवश्यक जनशक्ति उत्पादन गर्न थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सात प्रदेशका ठूला अस्पतालमा मापदण्डअनुसारको स्तर–३ जलन उपचार सेवा विस्तार गर्ने तयारी गरेको छ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार ती अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई एडभान्स बर्न केयर तालिमसमेत सञ्चालन गरिएको छ। कोशीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेसको नारायणी अस्पताल वीरगञ्ज, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल नेपालगन्ज, कर्णालीको सुर्खेत अस्पताल र सुदूरपश्चिमको सेती अस्पतालमा यो सेवा विस्तार गर्न थालिएको हो।
अहिले ती अस्पतालमा सामान्य रूपमा जलन उपचार सेवा दिइँदै आएको छ। तालिमपछि स्तर–३ सम्मको उपचार सम्बन्धित अस्पतालमै उपलब्ध गराउने सरकारको तयारी रहेको डा पौडेलले बताए।
पहिलो चरणमा नारायणी अस्पताल वीरगञ्ज र सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ३० दिनको जलन उपचार तालिम दिइएको छ। यसअघि उनीहरूलाई छ दिने प्राथमिक जलन उपचार तालिम दिइएको थियो।
तालिममा नारायणी अस्पतालबाट डा प्रदीपकुमार ठाकुर, नगेन्द्र महतो, तबसुम बेगम र यस्मिन खातुन तथा सुर्खेत प्रदेश अस्पतालबाट डा सोजन सापकोटा, रोशनी श्रेष्ठ, दलबहादुर विक र सुमन कँडेल गरी आठ जनाको सहभागिता थियो।
मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पताल, कीर्तिपुरमा तालिम सञ्चालन गरेको हो। तालिमपछि तयार भएको जनशक्तिले सम्बन्धित अस्पतालमा जलन वार्ड स्थापना गर्ने र गुणस्तरीय सेवा सुनिश्चित गर्दै सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ। डा पौडेलले तिहारपछि क्रमशः अन्य प्रदेशका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि तालिम दिइने बताए।
