भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागले गरेको ८५७ जना कर्मचारीको विवादित सरुवा बदर गरेको छ। मन्त्री प्रतिभा रावलले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त सरुवा खारेज गरेकी हुन्।
विभागले गत असोज २३ गते नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह अन्तर्गतका ८५७ कर्मचारीको एकैपटक सरुवा गरेको थियो। सरुवालाई लिएर उजुरी र गुनासो परेपछि मन्त्रालयले छानबिन थालेको थियो। अब सरुवा प्रक्रियालाई स्पष्ट र पारदर्शी बनाउन छुट्टै मापदण्ड स्वीकृत गरी छानबिनपछि मात्र नयाँ सरुवा प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
यसअघि विभागका तत्कालीन महानिर्देशक प्रकाश जोशीले कानुन र मापदण्डविपरीत मनोमानी ढङ्गले ठूलो सङ्ख्यामा कर्मचारी सरुवा गरेको विषय सार्वजनिक भएको थियो। त्यसपछि मन्त्रालयले महानिर्देशकलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमै सरुवा गरेको थियो। सोही क्रममा मन्त्रालयले कात्तिक १८ गते असोज २३ को सम्पूर्ण सरुवा खारेज गर्ने निर्णय गरेको हो।
खारेज भएको सरुवामा नापी अधिकृत १०३ जना, सर्भेक्षक ४९८ जना र अमिन २५६ जना रहेका छन्। मन्त्रालयका शाखा अधिकृत सञ्जीव नेपालले विभागलाई पत्र लेख्दै प्राप्त उजुरीमाथि छानबिन गरी छुट्टै मापदण्ड स्वीकृत गरेर मात्र सरुवा गर्न जानकारी गराएका छन्।
