काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएका छन्। उनले चाडपर्वका बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न र समग्र शान्ति–सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका हुन्।
छलफलका क्रममा प्रधानमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन निर्देशन दिए।
अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पनि उनले सुरक्षा निकायका प्रमुखहरूलाई भनेका छन्।
