कर्णालीमा मंसिर १६ देखि २७ गतेसम्म हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक तयारी पूरा भएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् । प्रतियोगिता सुरु हुन अब २८ दिन मात्र बाँकी छ ।
मन्त्री पोखरेलका अनुसार खरिद प्रक्रियादेखि मैदान व्यवस्थापनसम्मका प्राविधिक काम सकिएका छन् । प्रचारप्रसारमा भने केही कमी रहेको उनले स्वीकार गरे । त्यसैलाई सम्बोधन गर्न ३० दिने उल्टो गणना सुरु गरिएको छ ।
प्रतियोगिताका लागि गठन गरिएका १४ वटा उपसमितिमध्ये १० वटा संघीय सरकारले र चार वटा प्रदेश सरकारले बनाएका हुन् । अबदेखि हरेक उपसमितिका कम्तीमा एक जना सदस्य कर्णालीमै बसेर समन्वय गर्ने निर्णय भएको मन्त्रीले जानकारी दिए । यसअघि धेरै काम काठमाडौंबाटै भएकाले तयारी मैदानमा देखिन नसकेको उनको भनाइ छ ।
रङ्गशाला आगामी एक साताभित्र प्रदेश सरकार मातहत आउने जानकारी प्रदेश सरकारले दिएको छ । त्यसका लागि प्रक्रिया अघि बढिसकेको मन्त्री पोखरेलले बताए । उनले सुर्खेत पुगेर रङ्गशाला तथा खेल पूर्वाधारको प्रत्यक्ष अवलोकन गरेपछि कर्णाली प्रतियोगिताका लागि तयार रहेको देखिएको बताए ।
कर्णालीमा पहिलो पटक हुन लागेको यो प्रतियोगिता दुई वर्षअघि अर्थात् २०८१ मंसिरमै सम्पन्न भइसक्नुपर्ने थियो । तर मिति पाँच पटक सारिएपछि अहिले मंसिर १६ देखि २७ गतेसम्म हुने निश्चित भएको हो ।
मन्त्री पोखरेलले प्रतियोगितामा विद्यालय, कलेज र मध्यपश्चिम विश्वविद्यालयलाई जोड्ने काम भइरहेको बताए । विद्यार्थीलाई खेल हेरेर खेलाडी बन्ने प्रेरणा मिलोस् भन्ने उद्देश्यले समन्वय गरिएको उनको भनाइ छ । प्रतियोगितापछि बनेका खेल संरचना चलायमान राख्न फुटबल र क्रिकेटका घरेलु प्रतियोगिता आयोजना गर्ने छलफल भइरहेको उनले जानकारी दिए ।
