काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ मा रहेको बुढानीलकण्ठ मन्दिर परिसरमा सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाउने काम सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार र बिहीबार डोजर चलाएर सात वटा संरचना भत्काएको हो।
कार्यालयकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाका अनुसार बुधबार छ वटा घर भत्काइए भने बिहीबार एउटा सामुदायिक भवन हटाइयो। मुआब्जा पाइसकेका व्यक्तिले पनि सार्वजनिक जग्गा नछोडेपछि प्रशासनले डोजर चलाउनुपरेको उनले जानकारी दिइन्।
बिहीबार परिसरभित्र रहेका अन्य केही संरचनाको नापजाँच गरेर चिन्ह लगाइएको छ। ती संरचनाका धनीले आफैँ भत्काउने बताएका छन्। तर, उनीहरूले तोकिएको समयभित्र नहटाएमा तिहारपछि प्रशासनले डोजर लगाएर हटाउने तयारी गरेको छ।
अतिक्रमित संरचना हटाएपछि मन्दिर परिसरमा पैदल मार्ग निर्माण तथा सौन्दर्यकरण गर्ने योजना अघि सारिएको छ। प्रशासनले मन्दिर क्षेत्रलाई व्यवस्थित, सफा र दर्शनार्थीमैत्री बनाउने लक्ष्य लिएको छ। अतिक्रमण हटाउने अभियानले मन्दिर परिसरको पुरानो स्वरूप फर्किने अपेक्षा गरिएको छ।
