जनकपुरधामबाट भारतको अयोध्यासम्म चल्ने विशेष रेल सेवाको तयारीले नयाँ मोड लिएको छ। बुधबार भारतीय विशेष रेलले जयनगरदेखि जनकपुरधामको कुर्था स्टेसनसम्म ‘ड्राइ रन’ परीक्षण गर्यो। डब्ल्यूडीपी ४ डी ४०४०३ नम्बरका दुई इञ्जिन र सात बोगी रहेको रेल बिहान ११ बजे जनकपुरधाम आइपुगेको थियो।
परीक्षण रेलमा भारतको इस्ट सेन्ट्रल रेल्वे हाजिपुरका एडिसनल जेनरल म्यानेजर अमरेन्द्र कुमारसहित लिक सञ्चालन प्रबन्धक र प्रमुख सुरक्षा कमान्डर सवार थिए। नेपालतर्फबाट नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुली, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भुदेव झा र प्रहरी उपरीक्षक रुपेश खड्का सहभागी भए। परीक्षणका क्रममा रेलको लिक, सुरक्षा अवस्था र सञ्चालनका प्राविधिक तथा प्रशासनिक पक्षबारे छलफल भएको थियो।
प्रबन्ध सञ्चालक पराजुलीका अनुसार रेल चल्ने मिति अहिले नै तय भएको छैन। सबै परीक्षण र तयारी पूरा भएपछि मात्र सञ्चालनको घोषणा हुनेछ। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सेवा उद्घाटन गर्ने तयारी भइरहेको छ। केही दिनअघि दुवै देशका रेल्वे, सुरक्षा, भन्सार र अध्यागमन अधिकारीको टोलीले विशेष निरीक्षण यानबाट जयनगर–जनकपुरधाम–कुर्था खण्डको स्थलगत निरीक्षण गरेको थियो।
नेपालको एक मात्र रेल सेवा अहिले महोत्तरीको भंगहादेखि भारतको जयनगरसम्म सञ्चालनमा छ। नयाँ सेवामा सुरुमा भारतीय रेल नै चल्नेछ भने नेपाल पक्षले आफ्नो भूभागको सञ्चालन र रेखदेख सम्हाल्नेछ।
सेवा सुरु भएपछि सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्या प्रत्यक्ष रेलले जोडिने छन्। रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटकको आवागमन बढ्ने र जनकपुरधामको व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ। जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पर्यटकको आगमनले व्यापारसँगै समग्र पर्यटन प्रवद्र्धन हुने बताए।
