लमजुङ — नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको समृद्धि र विकासमा युवा पुस्ताको भूमिका निर्णायक रहेको बताएका छन्।
बिहीबार लमजुङको बेँसीसहरमा आयोजित युवा तथा विद्यार्थी अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले युवाहरू राजनीतिबाट टाढा रहन नहुने धारणा राखे। परिवर्तन र राष्ट्र निर्माणमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो।
राजनीतिलाई राम्ररी बुझेर नेतृत्वदायी भूमिकामा अघि बढ्न उनले युवाहरूलाई आग्रह गरे। शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सञ्चारका क्षेत्रमा विकासको गति बढाउन सके मात्रै देश समृद्धिको बाटोमा अघि बढ्ने उनले बताए।
मुलुकको आर्थिक अवस्था र रोजगारीको प्रसंगमा पोखरेलले पहिले करिब ७० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेकामा पछिल्लो समय कृषि पेसा छाड्ने क्रम बढेको उल्लेख गरे। कृषिबाट बाहिरिने जनशक्तिका लागि देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको उनको भनाइ छ।
स्वदेशमै रोजगारीका अवसर बढाउन निजी तथा सेवामूलक क्षेत्रको विकास आवश्यक रहेको उनले बताए। ती क्षेत्रको विस्तार पर्याप्त नहुँदा नागरिकले अपेक्षित रूपमा विकासको अनुभूति गर्न नसकेको उनको भनाइ थियो।
