नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई वटा खेल हुनेछन्। दिनको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम आमनेसामने हुनेछन् भने साँझको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सको सामना गर्नेछ।
दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा कर्णाली अंक तालिकामा आफ्नो स्थिति अझ बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछ। कर्णालीले अहिलेसम्म खेलेका तीन खेलमध्ये दुईमा जित निकालेको छ र ऊ तालिकाको तेस्रो स्थानमा छ। काठमाडौंसँगको पहिलो खेलमा पराजित भएको कर्णालीले त्यसपछि विराटनगर र जनकपुरलाई हराएको थियो।
सुदूरपश्चिम भने चार खेलमा दुई जित र दुई हारसहित छैटौं स्थानमा छ। उसले चितवन र पोखरालाई हराएको छ भने विराटनगर र लुम्बिनीसँग पराजय बेहोरेको छ। आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम तालिकाको माथिल्लो स्थानतर्फ उक्लन चाहन्छ।
दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। चितवनले तीन खेलमा एक जित, एक हार र एक खेल वर्षाका कारण रद्द भएपछि सातौं स्थानमा छ। उसले विराटनगरविरुद्ध पहिलो जित निकालेको थियो भने सुदूरपश्चिमसँग पराजित भएको थियो।
पोखरा भने अहिलेसम्म खेलेका तीनै खेल हारेर अंक तालिकाको पुछारमा छ। लुम्बिनी, जनकपुर र सुदूरपश्चिमसँग पराजित भएको पोखरा आज चितवनविरुद्ध पहिलो जितको खोजीमा हुनेछ।
