गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने खानेनुन गोरखाको उत्तरी भेगका विकट गाउँमा २०० रुपैयाँसम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ, न्यू शक्ति नुनको २० रुपैयाँ र भानु नुनको ९ रुपैयाँ तोकेको छ । तर हिमालपारिका बस्तीमा एक प्याकेट आयो नुनको मूल्य ६० देखि २०० रुपैयाँसम्म पर्ने गरेको छ । गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ ।
तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा प्रतिप्याकेट आयो नुनको मूल्य २०० रुपैयाँ पर्छ । तल्लो क्षेत्रमा ३० रुपैयाँमा पाइने एक प्याकेट नुन साम्दोसम्म पुर्याउन ढुवानीमै १०० रुपैयाँ खर्च हुने स्थानीय निमा दोर्जेले बताए । पाङसिङबाट साम्दोसम्म एकपोका नुन ल्याउँदा ढुवानी भाडामात्रै १०० रुपैयाँ पर्छ ।
वडा नं २ को ल्हो गाउँमा खाद्यान्न ढुवानी भाडा प्रतिकिलो ८० रुपैयाँ पर्ने भएकाले एक प्याकेट आयो नुन १५० रुपैयाँमा पाइन्छ । वडा नं ५ बिहीमा भने प्रतिप्याकेट १०० रुपैयाँ पर्ने स्थानीय काल्देन छेवाङले बताए । हिउँदमा खच्चडबाट ढुवानी गर्दा प्रतिकिलो २५ रुपैयाँ भाडा लाग्छ भने वर्षायाममा ७० रुपैयाँसम्म पुग्छ । वडा नं ४ प्रोकमा प्रतिकिलो नुन १०० देखि १७० रुपैयाँसम्म पर्छ ।
चुम उपत्यकाका अन्तिम बस्ती छुले र निलेका बासिन्दाले एक प्याकेट आयो नुनको १८० देखि २०० रुपैयाँसम्म तिर्ने गरेका छन् । पाङसिङबाट डेढदेखि दुई दिनको पैदलदूरीमा रहेका ती बस्तीमा खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो ६० रुपैयाँ भाडा लाग्छ । लामागाउँसम्म ५५ र छेकम गाउँसम्म प्रतिकिलो ५० रुपैयाँ भाडा पर्छ । छेकम्पारका बस्तीमा एक प्याकेट आयो नुन १५० रुपैयाँ पर्छ भने वडा नं ६ चुम्लिङमा १०० रुपैयाँ पर्छ ।
सरकारले विकट हिमाली क्षेत्रका बासिन्दालाई सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । कर्पोरेसनले चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि ३५० क्विन्टल आयो नुन पठाएको छ । कर्पोरेसनका गण्डकी प्रदेश प्रमुख सागर सेरचनका अनुसार यहाँबाट प्रतिकिलो २८ रुपैयाँका दरले नुन पठाइन्छ ।
तर अनुदानको नुन उत्तरी गोरखाका सबै विकट बस्तीमा पुग्न सकेको छैन । अनुदानको नुन सिर्दिबास क्षेत्रमै खपत हुने गरेको छेकम्पारका पासाङ फुन्जो लामाले बताए । सरकारले जगतसम्म नुन पुर्याउन ढुवानी अनुदान दिन्छ । त्यहाँबाट सामागाउँ र साम्दो पुग्न चार दिन तथा छेकम्पार पुग्न तीन दिन लाग्छ ।
नेपाली सेनाले गाउँपालिकाको केन्द्र फिलिमदेखि केही माथि पेवासम्म सडकको ट्र्याक खोलेको छ । तर मोटर भने पाङसिङसम्म मात्रै पुगेको छ । बजेट अभावका कारण सडक निर्माणले गति लिन सकेको छैन । फलस्वरूप चुमनुब्री गाउँपालिका–३ सिर्दिबासबाहेक अन्य छ वटा वडा अझै सडक सञ्जालको पहुँचबाट टाढा छन् ।
