अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही फेरि थाल्ने विषयमा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गरेका छन्। मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले अपेक्षित नतिजा हात पार्न नसकेपछि उनको बोली केही नरम देखिए तापनि थप आक्रमणको सम्भावना अझै जीवित छ।
फक्स न्युजले जनाएअनुसार ह्वाइट हाउसमा बुधबार र बिहीबार यस विषयमा महत्वपूर्ण बैठक भएका थिए। बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानको आणविक कार्यक्रमलाई सधैंका लागि अन्त्य गर्न थप आक्रमण चाहिन्छ वा चाहिँदैन भन्नेमा अमेरिका छिट्टै निष्कर्षमा पुग्ने बताए। उनले सकभर इरानको बाँकी संरचना ध्वस्त पार्न नचाहेको तर परिस्थितिले मागे त्यसो गर्नुपर्ने हुन सक्ने बताए।
यसअघि उनले इरानका बाँकी सैन्य क्षमता, ऊर्जा पूर्वाधार र पुलहरूलाई निशाना बनाउन सकिने चेतावनी दिएका थिए। इरानलाई पुनः खडा हुन करिब २५ वर्ष लाग्न सक्ने उनको अनुमान छ।
उता, अमेरिकी सेन्ट्रल कमान्डले इरानमा ठूलो सैन्य कारबाही फेरि सुरु गर्ने तयारी अन्तिम चरणमा पुर्याएको भए पनि ह्वाइट हाउसबाट औपचारिक आदेश आइसकेको छैन।
अक्टोबर ८ मा ट्रम्पले नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका थिए। निर्वाचनपछि इन्धनको मूल्य बढ्दै गएको र युद्धप्रतिको जनसमर्थन खस्कँदै गएको अवस्थामा थप कारबाहीले प्रशासनलाई राजनीतिक कठिनाइमा पार्न सक्ने देखिन्छ।
यसैबीच इराकका प्रधानमन्त्री अली फालेह अल–जैदीले बिहीबार ट्रम्पसँगको टेलिफोन वार्तामा आफ्नो देशको भूमि छिमेकी राष्ट्रविरुद्ध आक्रमणका लागि प्रयोग हुन नदिने बताएका छन्। सबै राष्ट्रको सार्वभौमिकताको सम्मान हुनुपर्ने उनको भनाइ रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
इरानमाथि थप आक्रमण गर्ने कि वार्ताबाटै विवाद सुल्झाउने भन्ने अमेरिकी निर्णयले होर्मुज जलघाँटी हुँदै हुने समुद्री ढुवानी र विश्व ऊर्जा बजारमा समेत असर पार्ने देखिएको छ।
