देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिनाका शिशुसहित छ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार सिरहा, बारा, धनुषा, नवलपरासी पूर्व, गोरखा र कास्कीमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
सिरहाको गोलबजारमा मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा २२ वर्षीय लटल सदायको मृत्यु भयो। बाराको चुरियामाईमा ट्रक र मोटरसाइकल ठोक्किँदा २१ वर्षीय निराजन यादवको ज्यान गयो भने धनुषाको मिथिला बिहारीमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय राहुल साहले ज्यान गुमाए।
नवलपरासी पूर्वको कावासोतीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक महिनाका मायुस सारूको मृत्यु भएको छ। गोरखा नगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय महेश बानिया र पोखरा महानगरपालिका–६ जरेवरमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय देव तामाङको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा केही व्यक्ति घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न केही सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
