काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट प्रक्रियामा १६ जना उम्मेदवार अगाडि बढेका छन् । छनोट उपसमितिले मूल्यांकनमा सबैभन्दा बढी अंक ल्याउने उम्मेदवारको नाम शुक्रबार सार्वजनिक गरेको हो । नाम वर्णानुक्रमअनुसार राखिएको छ ।
छनोटमा परेकाहरूमा चितवनका आशुतोष प्रधान, उत्तम प्रसाद देवकोटा र धर्मराज दवाडी छन् । इलामका टेक बहादुर महत, मोरङका नोजल कोइराला, काठमाडौँका युविका भण्डारी र राजाराम केसी तथा गोरखाका रामचन्द्र सेढाईं पनि सूचीमा छन् । त्यसैगरी भक्तपुरका रोहिणी प्रसाद खनाल, दाङका लक्ष्मण गौतम, पाल्पाका विनोद अर्याल, ताप्लेजुङकी श्रद्धा श्रेष्ठ, रुपन्देहीका श्री प्रसाद भट्टराई, काठमाडौँका सन्तोष विक्रम थापा, बैतडीका सुरेश सिंह बुडाल र कञ्चनपुरका हिकमत सिंह ऐर छनोट भएका छन् ।
उम्मेदवारको मूल्यांकन नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार गरिएको हो ।
छनोटमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे बोर्डको सचिवालयमा उपस्थित हुन भनिएको छ । उनीहरूले शैक्षिक योग्यता र अनुभवका सक्कल कागजात ल्याउनुपर्नेछ । सोही अवसरमा उनीहरूले प्रस्तुतीकरणसमेत दिनुपर्ने उपसमितिले जनाएको छ ।
