काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकबाट लिइएको ऋण, त्यसको भुक्तानी प्रक्रिया र किस्तागत विवरण पेस गर्न आदेश दिएको छ ।
अध्यक्ष वासुदेव आचार्य तथा सदस्य डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयसँग ऋण र भुक्तानीसम्बन्धी सम्पूर्ण विवरण मागेको हो ।
अदालतले चिनियाँ निर्माण कम्पनी सीएएमसीले भुक्तानीका लागि दाबी गरेका बिल र भरपाइ, भुक्तानी भइसकेको रकम तथा भुक्तानी हुन बाँकी रकमको विवरण पनि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट झिकाउन आदेश दिएको छ ।
गत वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले उनीहरूबाट ३ अर्ब ६२ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ ।
मूल सम्झौतामा ठेकेदार कम्पनीले नै कर, महसुल र अन्य शुल्क बुझाउनुपर्ने सर्त रहेकोमा ती सबै छुट दिने गरी कार्यान्वयनसम्बन्धी अर्को सम्झौता गराइएको देखिएको अख्तियारको दाबी छ । कर र महसुल राज्यकोषमा दाखिला नहुने गरी चिनियाँ कम्पनीलाई दोहोरो लाभ दिलाइएको आरोप पनि अख्तियारले लगाएको छ ।
