क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई बाँकी जेल सजाय घरमै नजरबन्दमा बसेर भुक्तान गर्ने बाटो खुलेको छ। उनको पार्टी युनाइटेड मलेसियन नेसनल अर्गनाइजेसन (युएमएनओ) ले अदालतले तोकेको ५० लाख रिङ्गिट जरिवाना शुक्रबार बुझाएपछि यस्तो सम्भावना बढेको हो। पार्टीले शुक्रबार बिहान क्वालालम्पुर उच्च अदालतमा जरिवाना भुक्तानीको सम्पूर्ण प्रक्रिया पूरा गरेको जनाएको छ।
७३ वर्षीय नजिबलाई मलेसियाको सार्वभौम सम्पत्ति कोष तथा अहिले निष्क्रिय रहेको वान मलेसिया डेभलपमेन्ट बर्हाद (१एमडिबी) मा भएको विश्वकै ठूलो वित्तीय हिनामिनामध्ये एकमा संलग्न रहेको अभियोगमा जेल सजाय सुनाइएको थियो। जरिवाना बुझाएपछि उनलाई बाँकी सजाय घरमै नजरबन्दमा बसेर भुक्तान गर्न अनुमति दिने व्यवस्था गरिएको छ। मलेसियाका राजा सुल्तान इब्राहिमले गत सेप्टेम्बरमा नजिबलाई सशर्त माफी दिनुभएको थियो।
पार्टीले सार्वजनिक सहयोग सङ्कलन गर्न स्थापना गरिएको विशेष नजिब रजाक सोलिडारिटी फन्ड खाता पनि औपचारिक रूपमा बन्द गरिएको जनाएको छ। विज्ञप्तिमा अब यस प्रयोजनका लागि सर्वसाधारणबाट थप आर्थिक सहयोग सङ्कलन गर्नुपर्ने आवश्यकता नरहेको उल्लेख छ। नजिबका सहयोगी अहमद लुत्फी अजहरले जरिवाना बुझाइएको पुष्टि गर्दै अब नजरबन्दसँग सम्बन्धित स्थानान्तरण कागजात जारी हुने प्रतीक्षामा रहेको पत्रकारहरूलाई बताएका छन्। यसैबीच, नजिबको निवासतर्फ जाने सडकमा शुक्रबार दिउँसोसम्म प्रहरीले पहेँलो टेप र ट्राफिक कोन राखेर आवागमन नियन्त्रण गरेको थियो। सम्भावित भीड नियन्त्रणका लागि प्रहरीले गस्तीका सवारीसाधन र मोबाइल भ्यानसमेत परिचालन गरेको थियो भने सडक प्रवेशद्वारनजिकै दुईवटा पाल पनि राखिएको थियो।
