काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश रत्नबहादुर बागचन्दले न्यायाधीशबाट कुनै गल्ती भएमा पदमा बसिरहन नपाइने बताएका छन्। शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा उनले न्यायाधीशलाई गल्ती गर्ने छुट नहुने धारणा राखे। न्यायालयलाई न्यायालयजस्तै देखिनुपर्ने जिम्मेवारीमा कुनै छुट हुन नसक्ने उनको भनाइ थियो।
बागचन्दले न्यायाधीशबाट कुनै किसिमको कमजोरी देखिए सेवाबाट अलग हुने प्रतिबद्धता आवश्यक रहेको बताए। न्यायाधीश व्यक्ति नभई संस्था भएको उल्लेख गर्दै उनले व्यक्ति कलंकित भए व्यक्ति पछि हट्नुपर्ने मान्यता आफूले बोकेको बताए। अदालतले तराजु राखेर हार र जित तोक्ने निकाय भएको उनको भनाइ थियो।
आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा उनले जोड दिए। संवैधानिक नियुक्ति दिने जिम्मेवार संस्थाहरूले त्यसलाई प्रभावकारी रूपमा हेर्नुपर्ने र त्यसपछि सेवाबाट अलग हुनुपर्नेलगायतका परिणाम आउनुपर्ने उनको भनाइ थियो। न्यायाधीश राज्यको गौरवमय सेवा दिने ठाउँमा रहेकाले न्यायालयलाई कलंकित गर्न नसकिने उनले बताए।
आफू न्यायमा योगदान गर्न जन्मिएको बताउँदै बागचन्दले १८ वर्ष एक्लै भए पनि काम गरेको र न्यायाधीश हुनुको गौरव कहिल्यै नछाडेको बताए। आफैले गरेका फैसला कार्यान्वयन नभएर नागरिक अदालतको तहसिल शाखामा घुमिरहेको देख्दा न्याय नागरिकसम्म नपुगेको अनुभूति हुने गरेको उनले सुनाए।
कानुनको विद्यार्थी र न्यायाधीशका रूपमा आफूले बुझ्ने भनेको संविधान नै भएको उनको भनाइ थियो। संविधानभन्दा माथि कोही नरहेको र राज्यका पदाधिकारीले संविधानले दिएको जिम्मेवारी अक्षरशः पालना गर्नुपर्ने उनले बताए। संविधानले न्यायाधीश र प्रधानन्यायाधीशलाई समान रूपमा जिम्मेवारी दिएको उल्लेख गर्दै नियमावली वा कार्यविधि बनाएर संविधानलाई सीमित गर्न नमिल्ने उनको धारणा थियो।
