काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले आफन्तको मुद्दा कुनै पनि न्यायाधीशले हेर्न नमिल्ने बताएका छन् । आफ्नो जग्गासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि आफू न्यायाधीश नियुक्त हुँदैमा उक्त मुद्दा प्रभावित नहुने उनको दाबी छ ।
शनिबार संसदीय सुनुवाइ समितिमा जवाफ दिँदै पाण्डेले कुनै पनि न्यायाधीशले आफ्नो करिअर दाउमा राखेर कसैको प्रभावमा फैसला नगर्ने बताए । जग्गासम्बन्धी मुद्दामा आफ्नो परिवारले विशेष अदालतबाट सफाइ पाइसकेको पनि उनले जानकारी दिए ।
सर्वोच्च अदालतमा आफूले गरेको पुनरावेदन जग्गाको स्वामित्वसँग नभई जफतसम्बन्धी फैसलासँग सम्बन्धित रहेको उनले स्पष्ट पारे । आफ्नी श्रीमतीको नाममा रहेको साबिकको एक बिघा १४ कट्टा १५ धुर जग्गा हालसाबिक गर्दा दुई बिघाको जग्गाधनी पुर्जा प्राप्त भएको उनले बताए ।
साबिकको जग्गाभन्दा पाँच कट्टा बढी जग्गा प्राप्त भएको स्वीकार गर्दै उनले बाँकी १२ कट्टा जग्गा भने आफ्नै कित्ताभित्रको भएको दाबी गरे । विशेष अदालतले अभियोगमा दाबी गरिएको दुई बिघा १२ कट्टा जग्गामध्ये १७ कट्टा जफत हुने फैसला गरेको उनको भनाइ छ ।
उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्नुको कारण पाँच कट्टा बढी प्राप्त भएको जग्गा सरकारी ठहर भए फिर्ता गर्न तयार भए पनि १२ कट्टा जग्गा जफत गर्न नमिल्ने जिकिर रहेको उनले बताए । उनले आफूले कानुनअनुसार नै जग्गाधनी पुर्जा पाएको दाबी गरे ।
सर्वोच्च अदालतमा विचाराधीन उक्त मुद्दामा आफू न्यायाधीश नियुक्त भए पनि प्रभाव पार्ने वा सुनुवाइमा संलग्न हुने अवस्था नरहेको उनको भनाइ छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १७६ ले आफ्नो वा आफन्तको मुद्दा न्यायाधीशले हेर्न नहुने व्यवस्था गरेको उनले बताए ।
उनले न्यायिक जिम्मेवारी निर्वाह गर्दा अहिलेसम्म न्याय परिषद्मा भ्रष्टाचारसम्बन्धी आरोप नलागेको दाबी गरे । सर्वोच्च अदालत पुगेपछि पनि न्यायिक मर्यादा र मूल्य–मान्यताअनुसार काम गर्ने प्रतिबद्धता उनले जनाए ।
