२१ कात्तिक, काठमाडौं । मानवअधिकार, शान्ति र मातृभाषाका क्षेत्रमा लामो समय योगदान दिएका नेता तथा साहित्यकार पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइएको छ ।
शनिबार रत्नपार्कस्थित शङ्खधर साख्वा स्मृति पार्कमा पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागीहरूले उनको शालिकमा माल्यार्पण गरेका थिए ।
सहभागीहरूले तुलाधरले मानवअधिकारको रक्षामा, नेपाल भाषाको संरक्षणमा र नेपाली संस्कृतिको जगेर्नामा खेलेको भूमिकाबारे चर्चा गरे । उनको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा उनीहरूको जोड थियो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले तुलाधरले मानवअधिकारका क्षेत्रमा गरेको योगदानको सम्मान गर्नुपर्ने र उनले देखाएको बाटोमा अघि बढ्नुपर्ने बताए ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले राष्ट्रका लागि एकजुट भएर शान्ति प्रक्रियामा अगाडि बढ्नुपर्ने तुलाधरको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा राखिन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए । सहभागीहरूले तुलाधरको आदर्शलाई आत्मसात् गर्दै समाजमा शान्ति, सद्भाव र मानवअधिकारको सम्मान कायम राख्नुपर्नेमा जोड दिए ।
