काठमाडौं — नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा प्रहरी हिरासतमा रहेका इनम सापकोटाले दिएको भनिएको बयानप्रति आफ्नो धारणा सार्वजनिक गरेका छन्। शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा देउवा समूहले आयोजना गरेको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो विषयमा बोलेका हुन्।
देउवाले सापकोटाले १८ करोड रुपैयाँको कुरा गरेको उल्लेख गर्दै त्यो रकम सानो नभएको बताए। उक्त रकम दिएर पार्टी किनेको भन्ने आरोप आएको प्रसंग उठाउँदै उनले अब पैसामा पार्टी बेच्ने हो भन्ने प्रश्न गरे।
उनले निर्वाचन आयोगका तत्कालीन प्रमुख आयुक्तले कांग्रेसको आधिकारिकताको विषयमा आफ्नो ज्यानको खतरा रहेको बताएको कुरा आफूले सञ्चारमाध्यमबाट थाहा पाएको पनि सुनाए। तर आयुक्त जानकी तुलाधर नडराएको र पैसाको लेनदेन भएको कुरा स्पष्ट भएको उनको भनाइ थियो।
देउवाले आफू अहिले पनि पार्टी सभापति रहेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको जानकारी दिए। आफू विदेशमा रहेको समयमा विशेष महाधिवेशन भएको र आफूलाई सभापतिबाट नहटाइएको तथा आफूले महाधिवेशन पनि नगराएको भन्दै उनले अदालत गएको बताए।
