नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साँझ भएको खेलमा काठमाडौँ गुर्खाजले दिएको १६१ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सको सुरुवात निकै खराब रह्यो। पावरप्लेका ६ ओभर सकिँदासम्म लुम्बिनीले ६ विकेट गुमाएर जम्मा ३४ रन मात्र जोड्न सकेको छ, जसले उसको जितको सम्भावना निकै कमजोर बनाएको छ।
काठमाडौँका बलरहरूले सुरुदेखि नै लुम्बिनीका ब्याट्सम्यानमाथि निरन्तर दबाब बनाए। तीव्र गतिका बलर जहाँदाद खानले जम्मा २ ओभर बलिङ गर्दै ४ विकेट लिएर लुम्बिनीको शीर्ष क्रम ध्वस्त पारे। उनको साथमा कप्तान करण केसीले पनि कसिलो बलिङ गर्दै २ विकेट आफ्नो नाममा गरे।
लुम्बिनीका ब्याट्सम्यानहरू एकपछि अर्को सस्तैमा पेभेलियन फर्किए। निरोशन डिक्वेलाले ७ बलमा १४ रन जोड्दा डार्सी सर्टले ७ बलमा ४ रन मात्र बनाउन सके। आसिफ शेख २ बलमा १ रनमा आउट भए। कप्तान रोहित पौडेल २ बल, दीलिप नाथ ३ बल र सन्दीप जोरा ४ बल खेलेर बिनाकुनै रन आउट भए। ग्रान्ट स्टेवार्डले ३ बलमा ६ रन बनाएर एलबीडब्लू भए।
यसअघि पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा १६० रन बनाएको थियो। डेभिड वार्नरको अर्धशतकको मद्दतमा काठमाडौँले लुम्बिनीसामु १६१ रनको चुनौती प्रस्तुत गरेको थियो। तर लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको ब्याटिङ लाइनअप पावरप्लेमै भत्किँदा खेल काठमाडौँको पक्षमा झुकिसकेको देखिन्छ। अब लुम्बिनीलाई खेलमा फर्किन तल्लो क्रमका ब्याट्सम्यानबाट ठूलो साझेदारीको आवश्यकता छ।
