काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा अस्ट्रेलियाका चर्चित ब्याटर डेभिड वार्नरको एउटा सानो गल्तीले उनको टोलीलाई महँगो पर्न गएको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीचको खेलका क्रममा फिल्डिङ गरिरहेका वार्नरले रुमालको सहायताले बल समातेका थिए। अम्पायरले उक्त कार्यलाई नियमविपरीत ठहर गर्दै ब्याटिङ गरिरहेको लुम्बिनीलाई ५ रन पेनाल्टी दिए।
क्रिकेटको नियमअनुसार फिल्डरले शरीरको कुनै पनि भाग प्रयोग गरेर बल रोक्न वा समात्न पाउँछन्, तर शरीरबाहेकको कुनै वस्तु वा उपकरणको सहायताले जानाजानी बल रोक्नु वा समात्नु गैरकानुनी फिल्डिङ मानिन्छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियम २८.२ मा यस्तो अवस्थामा अम्पायरले बललाई तत्काल डेड बल घोषणा गर्नुपर्ने र ब्याटिङ टोलीलाई ५ रन पेनाल्टी दिनुपर्ने व्यवस्था छ। त्यसबाहेक ब्याटरले पूरा गरिसकेका रन र गल्ती हुँदा रन लिने क्रममा दुवै ब्याटरले एकअर्कालाई पार गरिसकेको अवस्थामा उक्त रन पनि जोडिन्छ। यस्तो बल ओभरमा गणना हुँदैन।
यस खेलमा पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो। काठमाडौंका लागि वार्नरले ५० बलमा ६६ रन बनाए भने साहिल पटेलले ३६ बलमा ३८ रन जोडे। यी दुईले पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए। अन्ततः काठमाडौंले लुम्बिनीलाई ३६ रनले पराजित गर्यो।
