सुनसरीको इटहरीमा गएराति भएको सडक दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्प नजिक कोशी लोकमार्गमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किएका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार राति पौने १२ बजे उत्तरबाट दक्षिणतर्फ गइरहेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रकको नम्बर प्रदेश १–०४ ००१ ख ०००८ र मोटरसाइकलको नम्बर बागमती प्रदेश ०२–०२५ प ३१३६ रहेको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि कोशी अस्पताल, विराटनगर पुर्याइएको थियो। तर अस्पताल पुर्याएपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।
मृतक दुवै जनाको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। दुर्घटनापछि ट्रक चालक फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको डिएसपी खड्काले जानकारी दिए। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
