रूपन्देहीको मर्चवार क्षेत्रमा रहेको भरबलिया गाउँका बासिन्दा नदीपारिको बस्ती पुग्न पाँच मिनेटको पैदल दूरीका लागि दुई घण्टासम्म घुम्न बाध्य छन्। सम्मरीमाई गाउँपालिका–५ मा पर्ने यो गाउँ तिनाउ–दानव नदीको किनारमा छ। नदीमा पक्की पुल नभएकाले वारिपारि गर्न उनीहरूले ५० देखि ५५ किलोमिटर लामो बाटो घुम्नुपर्छ। सवारीसाधनमा यात्रा गर्दा पनि डेढदेखि दुई घण्टा लाग्छ।
नदीमा झोलुङ्गे पुल भए पनि त्यसबाट सवारीसाधन चल्दैन। त्यसैले नदीपारिका खेतबारीमा पुग्न, बाली भित्र्याउन र उत्पादन बजारसम्म पुर्याउन किसानले अतिरिक्त समय, श्रम र खर्च व्यहोर्नुपरेको छ। गाउँमा सडक, खानेपानी, विद्युत्, शिक्षा र स्वास्थ्य सेवाको सहज पहुँचसमेत छैन।
स्थानीयका अनुसार वि.सं. २०३२ मा आएको बाढीले गाउँलाई नदीको वारि र पारि गरी दुई भागमा छुट्याएको थियो। बस्ती पुरानो स्थानबाट करिब एक किलोमिटर टाढा सार्नुपरेको थियो। वि.सं. २०६० मा मंगलपुर गाउँमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको थियो।
स्थानीय अगुवा वाजिद अली देवानका अनुसार पक्की पुल र सिधा सडक बने भरबलियासहित लुम्बिनी आसपासका करिब ५० हजार मानिस लाभान्वित हुनेछन्। उनले सरकार, पूर्वाधारमन्त्री सुनिल लम्साल तथा संघीय सांसद कन्हैया बनिया र तैफिक अहमदलाई भेटेर गाउँको अवस्थाबारे जानकारी गराएको बताए। स्थानीयको गुनासो छ— चुनावमा नेताहरूले विकासका आश्वासन दिन्छन्, तर निर्वाचनपछि कार्यान्वयन हुँदैन।
