भोजपुर — पूर्वी नेपालको प्रसिद्ध मुन्दुम पदमार्गबारे आवश्यक जानकारी अब अनलाइनबाटै पाउन सकिने भएको छ। कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पदमार्गसम्बन्धी विवरण समेटिएको वेबसाइट सञ्चालनमा ल्याएको हो।
tourism.koshi.gov.np बाट मुन्दुम पदमार्गसहित कोशी प्रदेशका अन्य पर्यटकीय स्थलबारे पनि जानकारी लिन सकिने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए। उनका अनुसार वेबसाइटमार्फत पदमार्गको अवस्थिति, गन्तव्यस्थल, प्राकृतिक तथा सांस्कृतिक विशेषता, स्थानीय जीवनशैली र पर्यटकीय आकर्षणबारे विवरण उपलब्ध हुनेछ।
पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यात्राका क्रममा चाहिने सूचना डिजिटल माध्यमबाट सहजै पाउनु वेबसाइटको मुख्य उद्देश्य हो। यसले पदमार्गको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भोजपुर, खोटाङलगायत आसपासका क्षेत्र जोड्ने मुन्दुम पदमार्ग पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, किरात संस्कृति तथा ऐतिहासिक र धार्मिक महत्वका स्थलले यस क्षेत्रलाई पदयात्राका लागि आकर्षक बनाएको छ।
वेबसाइट सञ्चालनले मुन्दुम पदमार्गको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ। यसबाट पर्यटकलाई यात्रा योजना बनाउन सहज हुनुका साथै स्थानीय पर्यटन व्यवसाय, घरबास र अन्य आर्थिक गतिविधिलाई समेत टेवा पुग्ने अपेक्षा छ।
