तन्त्रशास्त्रको प्राचीन ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ । तन्त्रविद् सन्दीप सापकोटाले अनुवाद तथा सम्पादन गर्नुभएको यो ग्रन्थ तन्त्रचर्चा परिवारले प्रकाशनमा ल्याएको हो ।
प्रकाशित ग्रन्थ शनिबार मध्यपुर थिमिको क्वालखुस्थित श्रीबालकुमारी मन्दिरमा अर्पण गरिएको थियो । मन्दिरमा आयोजित कार्यक्रममा ग्रन्थलाई विधिपूर्वक अर्पण गरिएको प्रकाशकले जनाएको छ ।
ग्रन्थमा १७ अध्याय र दुई हजार ५८ श्लोक समेटिएका छन् । अनुवाद प्रचलित नेपाल लिपिमा संरक्षित मूल संस्कृत पाठका आधारमा गरिएको हो । नेपाल लिपिमा उपलब्ध संस्कृत भाषाको तान्त्रिक वाङ्मयलाई नेपाली भाषामा प्रस्तुत गर्ने यस प्रयासले प्राचीन ज्ञानपरम्पराको अध्ययन, अनुसन्धान र प्राज्ञिक बहसलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
तान्त्रिक आगम परम्पराको महत्त्वपूर्ण ग्रन्थ मानिने ‘कुलार्णवतन्त्र’ मा तन्त्रदर्शन, साधना पद्धति तथा परम्परागत ज्ञानसँग सम्बन्धित विषय समेटिएका छन् । यस प्रकाशनसँगै नेपाली पाठकले तन्त्रशास्त्रको गहन विषयवस्तुलाई आफ्नै भाषामा पढ्न पाउने भएका छन् ।
प्राचीन ग्रन्थहरूको नेपाली अनुवादले लोपोन्मुख ज्ञानपरम्परालाई नयाँ पुस्तासम्म पुर्याउन सहयोग पुग्ने प्रकाशकको विश्वास छ ।
