रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले कात्तिक २० र २१ गते सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ पिन्ट रगत संकलन भएको छ। दुई दिने अभियानमा देशभरका एक हजारभन्दा बढी व्यक्तिले रक्तदान गरेका थिए।
डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीका अनुसार अभियान देशका विभिन्न जिल्लामा एकैसाथ सञ्चालन गरिएको थियो। उपत्यकामा रोटरी क्लब अफ मध्यपुरले चापाचो–थिमीमा, रोटरी क्लब अफ दाङले कौशी क्याफेमा तथा रोटरी क्लब अफ काठमाडौँ र रोटरी क्लब अफ काठमाडौँ मेट्रोले संयुक्त रूपमा रोटरी भवन–थापाथलीमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए। त्यस्तै, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ काठमाडौँ हाइट, रोटरी क्लब अफ काठमाडौँ सर्कल र रोटरी क्लब अफ पशुपतिको संयुक्त आयोजनामा प्राइम सीए कलेज, नयाँ बानेश्वरमा पनि कार्यक्रम भएको थियो।
उपत्यकाबाहिर रोटरी क्लब अफ रुपन्देहीले बुटवलमा, रोटरी क्लब अफ कीर्तिपुरले कीर्तिपुर नगाउँ दोबाटोमा, रोटरी क्लब अफ गोँगबु र रोटर्याक्ट क्लब अफ गोँगबु नर्थले बालाजु चोकमा तथा रोटरी क्लब अफ धरान फुटहिल्सले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा रक्तदान कार्यक्रम गरेका थिए।
अभियानमा रोटर्याक्ट, इन्टर्याक्ट, इनरह्वील, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मी, स्थानीय समुदाय तथा विभिन्न सहयोगी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
डिस्ट्रिक्ट सर्भिस प्रोजेक्ट कमिटीका अध्यक्ष राजेन्द्र गौतमले संकलित हरेक पिन्ट रगतले आवश्यकतामा परेका व्यक्तिको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले रक्तदानलाई सामान्य सामाजिक सहभागिताभन्दा माथि उठेर अरूको जीवन बचाउने मानवीय सेवाका रूपमा बुझ्नुपर्ने उल्लेख गरे। ‘एक थोपा रगत, एक जीवनको आशा–हरेक रक्तदानले जीवन बचाउँछ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले रोटरीको मूलमन्त्र ‘सर्भिस अभोब सेल्फ’ अर्थात् ‘आफूभन्दा माथि सेवा’ को भावनालाई व्यवहारमा उतारेको कमिटीका कोचेयर अरुण शर्माले बताए।
